भेरीगंगाका दुई गाउँ ‘जलवायु उत्थानशील गाउँ’ घोषणा
विनोद घिमिरे, सुर्खेत । भेरीगंगा नगरपालिकाका दुई गाउँलाई ‘जलवायु उत्थानशील गाउँ’ घोषणा गरिएको छ। सहास नेपालद्वारा सञ्चालित जलवायु उत्थानशील गाउँ (सीआरभी) परियोजनाअन्तर्गत भेरीगंगा नगरपालिका–१२ को मृगेडाँडा र वडा नम्बर २ को जब्दी गाउँलाई जलवायु उत्थानशील गाउँ घोषणा गरिएको हो।
भेरीगंगा नगरपालिकाको जलवायु उत्थानशील गाउँ घोषणा निर्देशिका, २०८३ ले निर्धारण गरेका १४ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा दुवै गाउँले ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि निर्धारित मापदण्ड पूरा गरेको आधारमा घोषणा गरिएको हो। जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन, कृषि प्रणालीमा सुधार तथा स्थानीय समुदायको अनुकूलन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाले गाउँस्तरमा जलवायु उत्थानशील अभ्यास प्रवर्द्धन गर्दै आएको छ।
परियोजनामार्फत स्थानीय समुदायलाई जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा उत्थानशील कृषिसम्बन्धी तालिम प्रदान गर्नुका साथै प्लास्टिक घरमा बेमौसमी तरकारी खेती, जैविक मल उत्पादन तथा प्रयोग, उन्नत बीउको उपयोग, नर्सरी स्थापना, सिँचाइ व्यवस्थापन र वर्षात्को पानी संकलनजस्ता अभ्यासमा सहयोग गरिएको छ। यसैगरी सुधारिएको चुलो, पानी फिल्टर तथा मौसमसम्बन्धी पूर्वसूचना प्राप्त गर्न एसएमएस सेवाको प्रयोगलाई समेत प्रोत्साहन गरिएको परियोजनाले जनाएको छ।
गाउँ घोषणा गर्दै भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले जलवायु परिवर्तनका असरबाट सुरक्षित रहन स्थानीय समुदायको तयारी र अनुकूलन क्षमता बढाउनु आवश्यक रहेको बताए। उनले गत भदौ १० गतेको बाढीपहिरोको घटनालाई स्मरण गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्ले जनधन तथा विकास निर्माणमा गम्भीर असर पार्न सक्ने भएकाले पूर्वतयारी, सचेतना र जोखिम न्यूनीकरणका उपायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
नगर प्रमुख ढकालले मृगेडाँडा र जब्दी गाउँलाई जलवायु उत्थानशील गाउँ घोषणा गरिनु अन्य गाउँका लागि पनि सिकाइको केन्द्र बन्ने बताए। स्थानीय सरकार गठन भएयता नागरिकसँग गरिएका प्रतिबद्धता क्रमशः पूरा गर्दै विकासका काम अघि बढाइएको उल्लेख गर्दै उनले शिक्षा, कृषि र नागरिकको जीवनस्तर सुधारका क्षेत्रमा परिवर्तन ल्याउने प्रयास भइरहेको बताए। कृषकको उत्पादन र आम्दानी बढाउँदै उनीहरूको जीवनस्तर उकास्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो। उनले जलवायु उत्थानशील अभ्यासलाई व्यवहारमा उतार्दै अन्य समुदायले पनि यसबाट सिक्नुपर्ने बताए।
नगर उपप्रमुख धनसरा बोहराले दुई गाउँलाई जलवायु उत्थानशील गाउँ घोषणा गरिनु स्थानीय समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताइन्। जलवायु परिवर्तनको असरबाट कृषि, खानेपानी, जनजीवन र वातावरणमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न समुदायस्तरमै सचेतना र व्यावहारिक अभ्यास आवश्यक रहेको उनको भनाइ थियो। परियोजनामार्फत सिकेका सीप र प्रविधिलाई व्यवहारमा निरन्तर प्रयोग गर्न सके मात्रै घोषणाको सार्थकता रहने उल्लेख गर्दै उनले यसको दिगोपनाका लागि नगरपालिका, वडा कार्यालय, सहास नेपाल, स्थानीय समूह र समुदायबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिइन्। उनले स्थानीयस्तरमा सुरु गरिएका राम्रा अभ्यासलाई निरन्तरता दिँदै अन्य गाउँमा समेत विस्तार गर्नुपर्ने बताइन्।
कार्यक्रमका सभाध्यक्ष तथा भेरीगंगा नगरपालिका–१२ का कार्यवाहक वडा अध्यक्ष इन्द्रलाल गिरीले जलवायु उत्थानशील गाउँ घोषणा हुनु स्थानीय समुदायको सक्रियता, सिकाइ र सामूहिक प्रयासको परिणाम भएको बताए। जलवायु परिवर्तनका असर स्थानीयस्तरमै अनुभव हुन थालेको अवस्थामा कृषकलाई अनुकूलनका उपाय सिकाउनु, विपद्को जोखिमबारे सचेत बनाउनु र उपलब्ध स्रोतसाधनको दिगो उपयोग गर्न प्रेरित गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। उनले घोषणा प्राप्त गरेका गाउँमा सञ्चालन भएका गतिविधिलाई निरन्तरता दिन तथा समुदायले सिकेका ज्ञान र सीपलाई दैनिक व्यवहारमा लागू गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
भेरीगंगा नगरपालिका–२ का वडा अध्यक्ष चिरञ्जीवी बुढाले जलवायु उत्थानशील गाउँका रूपमा विकास गर्न स्थानीय समूह र समुदायले देखाएको सक्रियताको प्रशंसा गरे। उनले समूहमा आबद्ध नागरिकलाई सिकेका सीप र अभ्यासलाई निरन्तरता दिन आग्रह गर्दै वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए। जलवायु परिवर्तनका असर न्यूनीकरण र कृषकको जीवनस्तर सुधारका लागि समुदायको सहभागिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी तुलबहादुर विकले सहास नेपालले जलवायु परिवर्तनका असर, कृषि उत्पादन सुधार, सरसफाइ तथा व्यावहारिक प्राविधिक ज्ञानका विषयमा महत्त्वपूर्ण जानकारी दिएको बताए। तालिमबाट सिकेका कुराले खेतीपातीलाई व्यवस्थित बनाउन र कृषकको उन्नतिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारबाट थप साथ र सहयोगको अपेक्षा रहेको बताए।
त्यस्तै, सहभागी कमला सारु मगरले मौसम र सिजनअनुसार खेती गर्ने अभ्यासले स्थानीयको जीविकोपार्जन सहज बनाउन सहयोग पुगेको बताइन्। परियोजनाबाट सिकेका सीप र प्रविधि प्रयोग गर्दा कृषि कार्यलाई व्यवस्थित गर्न तथा परिवारको जीवनस्तर सुधार गर्न टेवा पुगेको उनको भनाइ थियो। जलवायु परिवर्तनका कारण खेतीपातीमा पर्न सक्ने असरको सामना गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्दै उनले सिकेका अभ्यासलाई निरन्तरता दिने बताइन्।
सहास नेपाल सीआरभी परियोजनाकी संयोजक रोशनी घिमिरेले परियोजनाको अवधि समाप्त हुने चरणमा रहेकाले हालसम्म सुरु गरिएका गतिविधिको निरन्तरता र दिगोपनामा विशेष ध्यान दिनुपर्ने बताइन्। परियोजनाले समुदायमा जलवायु परिवर्तनसम्बन्धी सचेतना, कृषि अभ्यासमा सुधार र अनुकूलन क्षमता अभिवृद्धिका लागि काम गरेको उल्लेख गर्दै उनले परियोजनाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नगरपालिकाले अभिभावकत्व लिनुपर्नेमा जोड दिइन्। स्थानीय सरकार, वडा कार्यालय र समुदायको सहकार्य कायम रहेमा परियोजनाबाट सुरु भएका सकारात्मक अभ्यासलाई दीर्घकालसम्म निरन्तरता दिन सकिने उनको भनाइ थियो।
कार्यक्रममा भेरीगंगा नगरपालिकाले जलवायु उत्थानशील गाउँ घोषणा भएका मृगेडाँडा र जब्दी गाउँका समूहलाई प्रशंसापत्र प्रदान गरेको थियो।
भेरीगंगामा जेन्जी स्मृति कप फुटबल प्रतियोगिता, चन्द्रपुर एफसीलाई उपाधि
सुर्खेत । प्रथम जेन्जी स्मृति कप २०८३ खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि चन्द्रपुर एफसी लेकबेसी नगरपालिका–१०, सुर्खेतले जितेको छ। भेरीगंगा
भेरीगंगा–१० मा एक लाख पाँच हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण
पवित्रा आचार्य, सुर्खेत । ग्रामीण महिलाको आयआर्जन वृद्धि तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले भेरीगंगा नगरपालिका–१०, करेलेका ग्रामीण
अपाङ्गता भएका बालबालिकाको समावेशी विकासका लागि भेरीगंगामा अन्तरक्रिया
सुर्खेत । भेरीगंगामा अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको समावेशी विकास, अधिकार सुनिश्चितता र उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले




प्रतिकृया दिनुहोस